२०७९ जेठ ६
रामेछाप – रामेछाप जिल्ला अन्तर्गत स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षहरुले शपथ ग्रहण गर्नुभएको छ । जिल्लामा रहेका ८ स्थानीय तहको मत गणना सम्पन्न भए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले एक औपचारिक कार्यक्रमको आयोजना गरि नगरप्रमुख र गाउँपालिका अध्यक्षहरुलाई शपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरिएको हो । नगरप्रमुख र गाउँपालिका अध्यक्षहरुलाई जिल्ला न्यायधिश बद्रीप्रसाद ओलीबाट शपथ ग्रहण गराइएको हो ।
शपथ ग्रहण कार्यक्रमलाई संवोधन गर्दै रामेछापका जिल्ला न्यायधीश बद्रीप्रसाद ओलीले जनताको माग र आवश्यकताको आधारमा काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनु भएको छ । पार्टीबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले राम्रो काम नगर्दा जनताले विद्रोह गर्न सुरु गरे भन्ने उदाहरण अहिले निर्वाचनमा देखिएको न्यायधीश ओलीले बताउनुभयो । जिल्ला न्यायाधीश ओलीले जन भावना र स्थानीय आवश्यक्ताको आधारमा काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । अघिल्लो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय आवश्यक्ता र जनभावना अुनसार काम गर्न नसकेको गुनासाहरु बाहिर आएको स्मरण गराउँदै उहाँले त्यस्ता कमजोरीहरु नदोहोरिने गरी काम गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टीलाई ह्याम्पर नहुने गरी काम गर्न आग्रह गर्दै जिल्ला न्यायाधीश ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको सिट बढाउने गरी काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।
यसैबीच, मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले मुलुकको सफलतलाई ध्यानमा राखेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । त्यो नै सफताको कसी हुने उहाँले सहकार्य, समझदारी र समन्वयमा गर्नसमेत आग्रह गर्नुभयो ।
यता मन्थली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लब श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर आवश्यकता र जनताको मागको आधारमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले नवनिर्वाचित जनप्रतिनिधिहरुले नागरिकको हितको पक्षमा विकास गर्नुपर्ने बताउनु भएको छ । उहाँले निर्वाचनलाई निष्प्रभावी, निष्पक्ष वातारणमा सम्पन्न गर्नको लागि अहोरात्र खट्ने तीन वटै सुरक्षा निकाय, अन्य क्षेत्रका कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । विगतमा भएको विकासका कामहरुको उचित विश्लेषण र समीक्षा गरेर आगामी दिनमा ठोस काम गर्नको लागि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आवश्क सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
रामेछाप जिल्लामा नेकपा एमालेले १ नगरपालिका र २ गाउँपालिका सहित २४ वटा वडाहरु जितेको छ भने नेपाली काँग्रेसले पनि १ नगरपालिका र २ गाउँपालिका सहित २४ वटा वडाहरुमा विजय हासिल गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले २ गाउँपालिका सहित १५ वटा वडाहरु जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले १ वडामा विजय हासिल गरेको छ । रामेछाप जिल्लामा ८ स्थानीय तह अन्तर्गत ६४ वडाहरु रहेका छन् । जिल्लामा अहिले ३ सय ३६ जना जनप्रतिधिहरु निर्वाचित भएर आएका छन् । एमालेले र काँग्रेसले २४÷२४ वटा वडाको अध्यक्ष जितेको छ भने माओवादीले १५ वटा र एकीकृत समाजवादी एउटा वडाको अध्यक्ष जितेको छ । महिला सदस्यतर्फ एमाले २६, काँग्रेस २२, माओवादी केन्द्रले १६ वटा जितेको छ भने खुल्ला सदस्यतर्फ एमाले ४८, काँग्रेस ५०, माआवोदी २९ र समाजवादीबाट एक जना विजयी भएका छन् । यस्तै, दलित सदस्यतमा एमाले २६, काँग्रेस २३ र माओवादी १५ वडा वडमा विजयी भएका छन् ।