२०७९-जेठ ९
रामेछाप – नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्ण बहादुर तामाङ (कान्छराम)ले हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट प्राप्त नतिजाप्रति आफू सन्तुष्ट नरहेको बताउनु भएको छ ।
हालै सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ को चुनावी मत परिणामपछिको प्राप्त नतिजा सार्वजनिक गर्नको लागि सदरमुकाम मन्थलीमा आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै काँग्रेस सभापति तामाङले यस्तो बताउनु भएको हो । दुई नगरपालिका र ६ गाउँपालिका अन्तर्गतका ६४ वटा वडामध्ये ३५ वटा वडा अध्यक्ष र ६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जित्ने लक्ष्य लिएको बताउँदै लक्ष्यअनुसारको नतिजा हात नपरेकोले आफू हालको प्राप्त चुनावी नतिजाप्रति सन्तुष्ट नरहेको बताउनुभयो ।
अहिलेको निर्वाचनबाट पार्टीले प्राप्त गरेको परिणामप्रति आफूले आत्मा सन्तुष्टि प्राप्त गर्न नसकेको उहाँको भनाई थियो । आफ्नै कमजोरीको कारण सोचे अनुरुपको चुनावी नतिजा हात पार्न नसकेको उहाँले स्वीकार गर्नुभयो । यसैबीच, नवनिर्वाचित जनप्रतिनिधिहरुले पार्टीसँग समन्वय नगरी काम गरेको खण्डमा कारबाही गर्ने उहाँले बताउनु भएको छ । सभापति तामाङले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीसँग समन्वय गरेर पार्टीले दिएको सुझावका आधारमा मात्रै काम गर्न आग्रह गर्नुभयो ।
पार्टीको सिस्टमविपरित काम गरेको पाइएमा आफूले नछाड्ने उहाँले बताउनुभयो । यसैबीच, स्थानीय तह निर्वाचनमा पार्टीभित्र बसेर अन्तर्घात गर्ने पार्टीको नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरिने सभापति तामाङले बताउनु भएको छ । पालिकामा चुनावमा पार्टीका नेता कार्यकर्ताले गरेका योगदान र अन्तर्घातको सम्बन्धमा प्रतिवेदन पठाउनु भनेर आठ वटै स्थानीय तहमा पत्र पठाइसकिएको उहाँले बताउनुभयो । यदि कसैले पार्टीभित्र बसेर आफ्नै पार्टीको उम्मेदवारलाई अन्तर्घात गरेको पाइएमा छानबीन गरी पार्टीको विधान र नियमानुसार कारबाही गरिने उहाँको भनाई थियो । कार्यपालिका सदस्य चयनको गर्ने सवालमा माओवादीसँग गठबन्धन गरेर अघि बढ्ने बताउनु भएको छ । माओवादीसँग गठबन्धन गर्दा काँग्रेसलाई फाइदा हुन नसक्ने देखिएमा एमालेसँग तालमेल गरेर अघि बढ्नेसमेत बताउनुभयो ।