१४ फागुन २०७८
रामेछाप – रामेछापको सुनापती गाउँपालिकाको आयोजनामा हुन लागेको तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ आगामी चैत ५ गतेदेखि सुरु हुने भएको छ ।

सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष धावा लामाको प्रमुख आतिथ्यतामा शुक्रबार मन्थलीमा पत्रकार सम्मेलन गरी गाउँपालिकाले आगामी चैत ५ गतेदेखि ८ गतेसम्म चल्ने अध्यक्ष कप खेलकुद प्रतियोगिता–२०७८ बारे जानकारी गराएको हो । जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशीको रामेछाप तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितामा जिल्लाका आठ वटै स्थानीय तहका खेलाडीहरुले सहभागी हुन पाउने छन् ।
गाउँपालिकाको खेलमैदान हिलेदेवीमा हुने यस प्रतियोगितामा भलिबल र ब्याडमिण्टन लगायतका खेल हुनेछन् । गाउँपालिकाका अनुसार प्रतियोगितामा महिला, पुरुष दुवै खेलाडीहरुले भाग लिने पाउने छन् । प्रतियोगिताको भलिबल खेलतर्फ महिला, पुरुष दुवैका लागि प्रथम पुरस्कार नगद दुई लाख रुपियाँ द्वितीय पुरस्कार नगद एक लाख रुपियाँ र तृतीय पुरस्कार नगद पँचास हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सुनापती खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सान्त्वना नगद २५ हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार रुपियाँ प्रदान गरिने उहाँले बताउनुभयो । उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेण्डर, सर्भर र प्रशिक्षकलाई नगद पाँच÷पाँच हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाई छ ।
यसैगरी, ब्याडमिण्टनमा महिला÷पुरुष दुवैका खेलाडीका लागि प्रथम पुरस्कार नगद १५ हजार रुपियाँ, द्वितीय पुरस्कार दश हजार रुपियाँ र तृतीय पुरस्कार नगद पाँच हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । सान्त्वना पुरस्कार स्वरुप २५ सय रुपियाँ ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यस्तै, उत्कृृष्ट खेलाडीको हकमा नगद एक हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्रमाणपत्रको व्यवस्था गरिएको छ । दुवै खेलमा सेमीफाइनल खेलदेखि प्लेयर अफ दी म्याच घोषित गरि पुरस्कृत गरिने अध्यक्ष उहाँले बताउनुभयो । जिल्लाभित्र रहेका खेलाडीहरुको खेल क्षमतालाई उजागर गरी राष्ट्रिय स्तरका खेलाडी निर्माणमा सहयोग पु¥याउने लक्ष्यका यस प्रतियोगिताको सुरुवात गरिएको उहाँले बताउनुभयो । पालिकाले २०७५ सालदेखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
यसैबीच, गाउँपालिकाका अध्यक्ष धावा लामाले कला, संस्कृति, पर्यटन र खेलको माध्यमबाट पनि समृद्धि हासिल गर्न सकिने भएकोले खेल क्षेत्रको विकासका लागि आफूहरुले यस प्रतियोगिताका आयोजना गरिएको बताउनुभयो । राज्यले हालसम्म खेलाडी र खेल क्षेत्रको लागि केही गर्न नसकिरहेको उहाँको भनाई थियो । त्यस कारण आफूहरुले खेलाडी र खेल क्षेत्रको विकासका निमित्त अध्यक्ष कप प्रतियोगितको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । खेलका क्रममा प्रतियोगितामा सहभागी खेलाडीलाई चोटपटक लागेमा सम्पूर्ण उपचार खर्च पालिकाले व्यहोर्ने र खेलाडीहरुलाई दैनिक पाँच हजार रुपियाँ भत्ता प्रदान गरिने समेत उहाँले बताउनुभयो ।