२०७९ बैशाख ०५
रामेछाप – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले आसन्न स्थानीय निवार्चनमा हालसम्म दुई स्थानीय तह र २९ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वारको नाम टुंगो लगाएको छ । संघीय संरचनाअनुसार जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । जसअन्तर्गत ६४ वटा वडा रहेका छन् । त्यसमध्ये हालसम्म जिल्लाको रामेछाप नगरपालिकामा र सुनापति गाउँपालिकामा उम्मेद्वारको टुंगो लगाइएको नेकपा एमाले रामेछापले जनाएको छ । रामेछाप नगरपालिको प्रमुखमा रोशन पाख्रीन र उपप्रमुखमा सिता खत्रीको नाम टुंगो लागेको नेकपा एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्कीले बताउनुभयो । अहिलेसम्म जिल्लाका विभिन्न स्थानीय तहका २९ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वारको नाम टुंगो लगाइएको उपसचिव कार्कीले बताउनुभयो । अन्य स्थानीय तह र वडाहरुमा पनि उम्मेद्वार टुंग्याउने विषयमा छलफल भएको उहाँको भनाई छ ।