२०७९ बैशाख २६
हाल नजिकिँदै गरेको आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय रामेछापले रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले एक सूचना जारी गरी यस्तो जानकारी गराउनु भएको हो । यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनको लागि २७ गते भोलि १२ः०० बजे रातिदेखि लागु हुने गरी निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मको मादक पदार्थको बिक्री वितरणमा रोक लगाइएको प्रशासनले जनाएको हो । निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (घ) बमोजिम २७ गते मंगलबार अर्थात भोलि राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि मादक पदार्थको विक्री वितरण तथा सेवनमा सख्त रुपमा निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ, विज्ञप्तीमा भनिएको छ ।
यस्तै, अवैध घरेलु मदिरा उत्पादन, संकलन तथा विक्री वितरण गर्ने कार्य कानूनविपरित भएको उल्लेख गर्दै प्रशासनले कोही कसैबाट त्यस्तो कार्य भए गरेको पाइएमा अवैध मदिरा नष्ट गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।