१८ फागुन २०७८
रामेछप – रामेछपको मन्थली नगरपालिकाले बुधबारदेखि १२ वर्षमाथि उमेर समुहका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

नगरपालिकाले सोमबार एक सूचना जारी गरी बुधबारदेखि १२ वर्षभन्दा माथि उमेर समुहका कुनै खोप नलागएका व्यक्तिहरु, पहिलो मात्रा खोप लगाई दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दोस्रो मात्रा खोप लगाउन अवधि पुगेका सबै व्यक्तिहरुलाई खोप लगाइने जानकारी दिएको थियो । यस अघि कोभिड–१९ विरुद्धको पहिलो मात्रा अस्ट्राजेनिका, कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगेका १८ वर्षमाथिका व्यक्ति र जोनसन एण्ड जोनसन खोप लगाई ६ महिना अवधि पुगेका व्यक्तिलाई बुस्टर डोज खोप लगाउन थालिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका संयोज केशव फुयालले बताउनुभयो ।
हालसम्म कुनै पनि खोप नलागएका १८ वर्ष माथिका व्यक्तिहरुलाई अस्ट्राजेनिका, कोभिसिल्डको पहिलो मात्रा खोप तथा हालसम्म कुनैपनि खोप नलगाएका १२ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यार्थी तथा अन्य व्यक्तिहरुलाई मोडर्ना खोपको पहिलो मात्रा र पहिलो मात्रा मोडर्ना खोप लगाई ४ हप्ता अवधि पुगेका र दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई दोस्रो मात्रा मोडर्ना खोप लगाइने स्वास्थ्य शाखाका संयोजक फुयालले बताउनुभयो । उहाँका अनुसार मन्थली अस्पतालमा बुधबारदेखि सुरु भएको खोप अभियान २० गतेसम्म सञ्चाल हुनेछ । यस्तै, मन्थली नगरपालिका अन्तर्गत वडा नम्बर २ देखि १४ नम्बर वडाभित्रका सबै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, अस्थायी स्वास्थ्य केन्द्रबाट १९देखि सुरु भई २० गतेसम्म खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।
पहिलो मात्रा खोप लगाउन आउने व्यक्ति तथा लक्षित समुहले www.vaccine.mohp.gov.np मा गई ऐच्छिक फारम भरी त्यसको अभिलेख लिएर आउन नगरपालिकाले आग्रह गरेको छ । यसैगरी, दोस्रो मात्रा तथा बुस्टर डोज खोप लगाउन आउने व्यक्तिलाई अनिवार्य खोप कार्ड लिएर आउन समेत आग्रह गरिएको छ ।