Explore the Radio Tinlal in shortly.

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर कुटपिट गरेको घटनाको विषयमा राष्ट्रिय दलित आयोगले थाल्यो छानबीन

0

१० चैत्र २०७८
रामेछाप –
रामेछाप जिल्ला मन्थली नगरपालिकाको भलुवाजोरमा आफ्नै छिमेकीले १२ वर्षीया नाबालिकालाई घरभित्र प्रवेश गरेको कारण २१ घण्टासम्म बाँधेर कुटपिट गरेको घटनाबारे राष्ट्रिय दलित आयोगले स्थानीय प्रशासन, प्रहरी प्रमुख र राजनीतिक दलहरुबीच छलफल गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरस्थित केउरेपानी बस्ने ६३ वर्षीय वृद्धा शेर बहादुर श्रेष्ठले सोही स्थान बस्ने छिमेकी १२ वर्षीय सरिता नेपालीलाई दलित भएर घरभित्र पस्ने भन्दै घरको थाम र दलिनमा बाँधेर २१ घण्टासम्म कुटपिट गरी यातना दिएका थिए ।
अघिल्लो दिन फागुन ३० गते सोमबार अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट चैत १ गते मंगलबार दिउँसो मध्याह्न १२ः०० बजेसम्म नाम्लाले बाँधेर बन्धक बनाई यातना दिएका थिए । सोही घटनाको विषयमा छानबीन गर्न चैत ५ गते शनिबार आएको राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी नेतृत्वको टोलीले आइतबार जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी लगायतका व्यक्तिसँग भेटेर घटनाबारे छलफल गरेको हो ।
छलफलको क्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटीले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष राजकुमार थिङ र प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीलाई घटनासम्बन्धी मुद्दा प्रक्रिया कसरी अघि बढ्दैछ ? भनेर जिज्ञासा राख्नु भएको थियो । जवाफमा प्रहरी नायव उपरीक्षक थिङले २०७८ साल फागुन ३० गते घटना घटेको भएपनि आफूहरुलाई चैत १ गते मात्रै जानकारी प्राप्त भएको र जानकारी प्राप्त हुनसाथ आफूहरुले बालिकाको उद्दार गरेको बताउनुभयो ।
पिडित पक्षले पिडकविरुद्ध चैत १ गते मुद्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक थिङले बताउनुभयो । हाल शरीर बन्धक तथा अपहरणसम्बन्धी मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । तर, अपहरणका क्रममा पिडकले बन्धक बनाएको मात्र नभई जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसूरसमेत गरेको देखिएकोले जातीय छुवाछूत तथा भेदभाव कसूरसम्बन्धी मुद्दा समते दर्ता गराउनुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो । बाँधेको हुनाले शरीर बन्धक बनाएको देखिए पनि अहिले रुद्रीपूजा लगाएर घर चोख्याइदिनु प¥यो भनेर पिडित नाबालिकालाई आफूले बाँधेको भनेर पिडकले स्वीकार गरिसकेको प्रहरी नायव उपरीक्षक थिङले बताउनुभयो । पिडक श्रेष्ठले पीडित नाबालिकालाई दलित भएर घरभित्र प्रवेश गरेकै कारण बाँधेको भन्ने कुरा आफूले बुझेको उहाँको भनाई छ । पीडित पक्षले पिडक श्रेष्ठविरुद्ध छुवाछूतविरुद्धको कसूरसम्बन्धी जाहेरी दिएको खण्डमा दर्ता गरेर अघि बढाइने बताउँदै उहाँले यदि नदिएमा पनि प्रतिवादीको कागज, देख्ने, सुन्नेको कागजको आधारमा अनुसन्धान प्रतिवेदन बुझाउँदा र सरकारी वकिले माग दाबी पेश गर्दा जातीय छुवाछूत पनि भएको देखिएको भन्ने कुरा समावेश गरिने बताउनुभयो । घटनलाई कुनै पनि हालतमा तोडमोड गर्न नदिने उहाँले जिकिर गर्नुभयो । घटनबारे हालसम्म कुनै पनि दबाव नआएको उहाँको भनाई छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकार दीपक कुमार पहाडीले घटना निकै दुःखदायी भएको बताउँदै यस घटनाले सिङ्गो समाजलाई नै लज्जित बनाएको बताउनु भएको छ । यो घटना जातीय छुवाछूतसँग पनि जोडिएको बताउँदै प्रमुख जिल्ला अधिकारी पहाडीले अक्षम्य र दण्डनीय घटनाका दोषीलाई कारबाही हुने बताउनुभयो । सम्बन्धित निकायले स्वविवेक प्रयोग गरी स्वतन्त्र र निष्पक्ष रुपमा छानबीन गरी कानून बमोजिम पीडितलाई न्याय हुनेगरी पिडकलाई कारबाही गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको थियो । जुनसुकै जातको भएपनि घरभित्र प्रवेश गरेकै कारण यसरी बन्धक बनाएर थुनामा राख्ने कार्य कानूनसम्मत नहुने उहाँले बताउनुभयो ।
यस्तै, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटीले घटनाको हुनुको मुख्य कारण जातीय छुवाछूत नै देखिएको बताउँदै घटनाका दोषीलाई निष्पक्ष रुपमा छानबीन गरी कारबाही गर्न निर्देशन दिनुभयो । आफूले पिडकलाई भेटेर घटनाबारे बुझ्दा पिडकले दलित भएर घरभित्र प्रवेश गरेकै कारण नाम्लोले बाँधेर सिस्नो लगाइँ कुटपिट गरेको भनेर स्वीकार गरिसकेको सदस्य पुर्कोटीले बताउनुभयो । यसअघि शरीर बन्धक तथा अपहरण सम्बन्धी मुद्दा मात्रै दर्ता भएको देखिएको उल्लेख गर्दै उहाँले जातीय छुवाछूतसम्बन्धी कसूर पनि घटनामा जोडिएको देखिएकाले जातीय छुवाछूत तथा कसूर मुद्दा दायर गर्ने संकेत गर्नुभएको थियो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पनि घटनाका दोषीलाई कानून बमोजिम कारबाही गराउने विषयमा पार्टीकोतर्फ बाट पूर्ण साथ रहने बताउनु भएको छ । घटनासँग सम्बन्धित पीडितलाई न्याय दिलाउने कुरामा आफूहरुको साथ रहने उहाँको भनाई थियो । संविधान र व्यवस्थाको बर्खिलाप हुने किसिमले यस्तो घटना घटाउने पिडक व्यक्तिलाई कानून बमोजिम कारबाही गराउने कुरामा एमाले पार्टी सकरात्मक रहेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.