Explore the Radio Tinlal in shortly.

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर कुटपिट गर्ने भलुवाजोरका श्रेष्ठ दम्पत्तीसहित तीन जनाविरुद्ध जातीय छुवाछूत कसूरमा जाहेरी दर्ता

0

१० चैत्र २०७८
रामेछाप
घरभित्र प्रवेश गरेकै कारण १२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नु लगाइ कुटपिट गर्ने रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरका शेर बहादुर श्रेष्ठ र उनकी श्रीमती र छोरासहित तीन जनाविरुद्ध पीडितका आफन्तले जातीय छुवाछूत तथा भेदभावविरुद्धको कसूरमा फेरी जाहेरी दिएका छन् ।
मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरस्थित केउरीपानी बस्ने ६३ वर्षीया शेर बहादुर श्रेष्ठले सोही स्थान बस्ने १२ वर्षीया सरिता नेपालीलाई घरभित्र पसेर दही खाएको भनेर घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नु लगाइ लठ्ठीले कुटपिट गरेका थिए । गत फागुन ३० गते सोमबार अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट चैत १ गते दिउँसो मध्याह्न १२ः०० बजेसम्म चार हात खुट्टा र कम्मरमा बाँधेर सिस्नु लगाइ लठ्ठीले कुटपिट गरेका थिए । सोही घटनामा संलग्न भएकी शेरबहादुर श्रेष्ठको करिब ४५ वर्षीया श्रीमती बालकुमारी श्रेष्ठ र बाँधेर राख्नु भनेर फोनमार्फत निर्देशन दिने उनका छोरा करिब २७ वर्षीय रोशन श्रेष्ठविरुद्ध पीडित बालिकाको ठूलो बुबा सार्के नेपालीले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मन्थलीमा आएर जाहेरी दर्ता गराउनु भएको हो ।
दलित बालिका घरभित्र पसेपछि घर अशुद्ध भयो, रुद्री लगाइदिनुपर्छ, घरभित्रको भाँडाकुडासहित घरै जिम्मा लिनुपर्ने माग राखेर पीडित नाबालिकालाई २१ घण्टासम्म घरको थाम र दलिनमा पिडक श्रेष्ठ दम्पत्तीले बाँधेर राखेका थिए । स्थानीय जनप्रतिनिधि र शिक्षकले खबर गरे लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले चैत १ गते करिब दिउँसो करिब साँढे १२ः०० बजेपछि पीडित नाबालिका नेपालीलाई उद्दार गरेको थियो । यसअघि शेर बहादुरविरुद्ध मात्रै अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरी दिनुभएका नेपालीले राष्ट्रिय दलित आयोगको सुझावको आधारमा जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसूरमा पुनः जाहेरी दर्ता गराउनु भएको हो ।
यसअघि यही फागुन ५ गते शनिबार दलित आयोगका सदस्य सुन्दर पुर्कोटीको नेतृत्वमा आएको आयोगको टोलीले घटनाबारे स्थलगत अध्ययन गरी स्थानीय प्रहरी, प्रशासन र राजनीतिक दलसँग समेत छलफल गरेको थियो । त्यस क्रममा घटना जातीय छुवाछूत तथा भेदभावसँग जोडिएको भन्दै आयोगका सदस्य सुन्दर पुर्कोटीले जातीय छुवाछूत तथा भेदभावसम्बन्धी कसूरमा जाहेरी दिनुपर्ने समेत बताउनु भएको थियो । त्यही सुझावको आधारमा जिल्ला प्रहरी कार्यालयमा आएर बुधबार जाहेरी दर्ता गराएको पीडितका जाहेरवाला नेपालीले बताउनुभयो । जातीयताको आधारमा यसरी नाबालिकालाई बन्धक बनाइ कुटपिट गरी जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा ३ र ४ विपरितको कसूर गर्ने पीडक श्रेष्ठको श्रीमती र छोरालाई सोही ऐनको दफा ७ र ९ तथा पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडकलाई दण्ड सजाय गरी पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउनुपर्ने माग दाबीसहित जाहेरी दर्ता गरिएको पीडित पक्षले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.