४ फागुन २०७८
विगत करिब दुई वर्षदेखि बन्द रहेको मन्थली अस्पतालको आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र(ऋभ्इल्ऋ) पुनः सञ्चालनमा आएको छ । जनशक्तिको अभावमा गत आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनादेखि बन्द रहेको शल्यक्रियासहितको प्रसुति सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका संयोजक केशव फुयालले जानकारी दिनुभयो ।
स्वास्थ्य संयोजक फुयालका अनुसार जनशक्तिको अभावमा उक्त सेवा विगत १९ महिनादेखि पूर्ण रुपमा बन्द रहेको थियो । तर, अहिले मन्थली नगरपालिकाले स्वास्थ्य मन्त्रालयको समन्वयमा (एमडिजिपी) डाक्टर अर्थात स्त्रीरोग विशेषज्ञको व्यवस्था गरेसँगै आकस्मिक जटिलतायुक्त प्रसुती शल्यक्रिया सेवा पुनः सञ्चालनमा आइसकेको छ । सेवा सञ्चालन भएसँगै फागुन ३ गते मन्थली नगरपालिका–५ की २२ बर्षिय मनिषा थापा कार्कीलाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको उहाँले बताउनुभयो । मन्थली अस्पतालमा डा. समिर क्षेत्रीसहितको टोलीले मन्थली नगरपालिका वडा नं ५ की मनिषा थापा कार्कीको सफल शल्यक्रिया गरिएको र अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको उहाँले बताउनुभयो । जटिलतायुक्त प्रसूति शल्यक्रियाका लागि मन्थली अस्पतालले डा. समिर क्षेत्री, डा. पारस श्रेष्ठ, डा. नवराज श्रेष्ठ र डा. सरोज थपलियासहितको टोलीलाई यही फागुन १ गते आइतबार नियुक्त गरेको थियो ।

नव नियुक्त विशेषज्ञको टोलीसहित एनेस्थेसिया असिष्टेण्ट विवेकानन्द र नर्स लक्ष्मी वि.क.सहितको टोलीको सफल प्रयासपछि शल्यक्रिया मार्फत सुत्केरी गराउन सफल भएको संयोजक फुयालले बताउनुभयो । मन्थली अस्पतालमा जटिलतायुक्त प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आएकोमा खुसी व्यक्त गदै डा. क्षेत्रीले अब प्रसूति शल्यक्रियाका लागि राजधानी काठमाडौं जानु पर्ने अवस्था हटेको बताउनुभयो । २०७३ साल बैशाख महिनाबाट रामेछाप जिल्लामै पहिलो पटक जटिलतायुक्त प्रसूति शल्यक्रिया सेवा सञ्चालन भएको थियो । त्यसपछि पटक पटक बन्द हुँदै फेरी सञ्चालन हुँदै आएको यो सेवा २०७७ साउन महिनाबाट बन्द रहेको थियो ।