०७ फागुन २०७८
सरकारले घोषणा गरेको आसन्न आगामी स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै नेपाली काँग्रेस रामेछाप चुनावी तयारीमा जुटेको छ ।

देशभर एकैपटक गर्ने गरी सरकारले २०७९ साल वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचन मिति नजिकिएसँगै नेपाली काँगे्रस रामेछापका सभापति कान्छाराम तामाङ गाउँगाउँमा पुगेर स्थानीय नागरिकहरुसँग भेटेर भोट माग्दै आर्थिक सहयोग प्रदान गर्न थालिसेका छन् । सोही क्रममा काँग्रेस सभापति तामाङले आफ्नो व्यक्तिगत सहयोगमा रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारस्थित लक्ष्मीबासमा रहेका दलित समुदायका केही व्यक्तिहरुलाई एक सय वटा प्लास्टिकको चियर र १५ थान इलेक्ट्रोनिक आरन मेसिन प्रदान गरिएको नेपाली कागँ्रेस रामेछाप नगरपालिका ३ नम्बर वडा पार्टी कमिटीका सभापति मनोज खड्काले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत वडा सभापति खड्काले काँग्रेस जिल्ला सभापति कान्छाराम तामाङको व्यक्तिगत सहयोगमा एक सय वटा प्लास्टिकको चियर र १५ थान इलेक्ट्रोनिक आरन मेसिन प्रदान गरिएको उल्लेख गर्नुभएको छ । नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीद्वारा उक्त सामाग्री उनीहरुलाई हस्तान्तरण गरिएको वडा सभापति खड्काले बताउनुभयो । सामाग्री बुझ्नु भएका स्थानीय मान बहादुर विश्वकर्माका अनुसार काँग्रेस सभापति कान्छाराम तामाङले आफ्नो पार्टीमा प्रवेश गरी आफुलाई भोट हालेमा आर्थिक सहयागे प्रदान गर्ने वचन दिनुभएको थियो । त्यसलगत्तै आफू र स्थानीय दिलबहादुर विक नेपाली काँग्रेसमा प्रवेश गरेको मान बहादुर विश्वकर्माले बताउनुभयो । आफूहरु पार्टीमा प्रवेश गरेपछि कान्छारामले दुई सय वटा चियर भनेकोमा एक सय वटा चियर र १५ थान आरन मेसिन दिनुभएको मान बहादुर विश्वकर्माले बताउनुभयो । यसअघि मानबहादुर र दिलबहादुर दुवै जना एमाले पार्टीका कार्यकर्ता हुन् ।

यसअघि आफूहरु एमालेको कार्यकर्ता भएपनि आफूहरुको माग एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले बेवास्ता गरेपछि अहिले काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयो । यस्तै, तिल बहादुर विश्वकर्माले पनि आफूहरुलाई काँग्रेसले सामाग्री दिएको बताउनु भएको छ