०१ चैत्र २०७८
रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोरमा १२ वर्षिय बालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर यातना दिएका छन् ।
मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर बस्ने ६३ वर्षीय शेर बहादुर श्रेष्ठले सोही स्थान बस्ने १२ वर्षीया नाबालिका सरिता नेपालीलाई घरको थाम र दलीनमा बाँधेर सिस्नो लगाउँदै कुटपिट गरी यातना दिएका हुन् । दलित बालिका आफ्नो घरभित्र छिरेपछि घरै विटुलो भएको र कुल रिसाउने भन्दै पिडक शेर बहादर श्रेष्ठले सोमबार अपराह्न ४ः०० बजेदेखि मंगलबार मध्याह्न १२ः०० बजेसम्म घरको थाममा बाँधेर राखेका थिए । श्रेष्ठले सानो जातको मान्छे घरभित्र पसेर दही खाएको र घर अछुतो भएको भन्दै पीडितका परिवाले रुद्री लगाएर घर चोख्याउन खर्च नदिए सम्म नछोड्ने बताएपछि घटना एकाएक बाहिरिएको थियो ।
दुई दिन पहिले मात्रै रजस्वला भएकी नाबालिका गहभरी बनाउँदै बोल्नै नसक्ने अवस्थामा पुगेकी थिइन् । डोरीले बाँधेर राखेको कारण राती दिसा–पसिाब गर्न समेत असहज भएको पीडित बालिकाले बताइन् । आफूलाई महिनावरी भएको कारण डोरीले बाँधिएको अवस्थामा रात कटाउन निकै मुस्किल भएको पीडितको भनाई छ । पीडित बालिकाले आफूलाई पीडक शेरबहादुरले घरभित्रबाट निकालेर घरको थाम र दलिनमा नाम्लोले बाँधेर बेलुका करिब ८ः०० बजेसम्म झुण्ड्याएको र सिस्नु लगाउँदै लौरोले कुटपिट गरेको समेत बताएकी छिन् ।
यस्तै, शेर बहादुर श्रेष्ठले नाबालिकालाई करिब चार घण्टासम्म चल्न चट्पटाउनै नमिल्ने गरी घरको थाम र दलीनमा झुण्ड्याएर राखेको शार्के नेपालीले बताउनुभयो । यस्तै, बालिकाले घरभित्र पसेर दही खाएको निहुँमा मंगलबार देखि बाँधेर राखेको खबर सुनेको र घटना स्थालमा पुगेर श्रेष्ठ परिवालाई बालिकालाई छोड्न अनुरोध गरेपनि अछुत प्रवेश गरेको कारण घर नचोख्याएसम्म नछोड्ने अडान राखेपछि आफूहरुले पनि केही गर्न नसकेको मन्थली नगरपालिका वडा नं ६ की वडा सदस्य भक्तमाया श्रेष्ठले बताउनुभयो । पीडक शेरबहादुर श्रेष्ठले भने बालिकाले आफूहरु घरमा नभएको समयमा घर भित्र छिरेर दही चोरेर खाएको आरोपमा बाँधेर राखेको दावी गर्नु भएको छ । परम्परा देखि नै सानो जातको मानिस आफ्नो घरभित्र नछिरेको बताउँदै दलित बालिका घरमा छिरेपछि घर चोख्याउनु पर्ने सार्त राखेको स्थानीय र पत्रकार सामू पीडक श्रेष्ठले स्वीकार गर्नु भएको छ ।
देवीस्थान आधारभूत विद्यालयका प्रधानाध्यापक प्रल्हाद सुबेदीले कक्षमा ४ अध्ययनरत नाबालिका विद्यालयमा समेत अनुशासित छात्रा भएको बताउनुभयो । प्रधानाध्यापक सुबेदी भावुक हुँदै आफूले छुटाइदिन आग्रह गर्दा पीडक श्रेष्ठले अस्वीकार गरेको बताउनुभयो । नाम्लोले बाँधेर राखेको अवस्थाबाट पीडित नाबालिकालाई प्रहरीले उद्धार गरिसकेको छ । घटना बारे वडाध्यक्षले खबर गरेपछि बालिकाको उद्धार गरेर ल्याइएको र पीडक शेर बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धन प्रक्रिया सुरु गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताउनुभयो । घरभित्र पसेकै कारणले जातिय विभेद गर्न नहुने कानून भएपनि कानूनको उलङ्घन गरिएको देखिए कानून अनुसार पीडकलाई कारबाही हुने प्रहरी नायव उपरीक्षक थिङले बताउनुभयो ।
कानूनतः दश वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरको नाबालक वा नाबालिकाले जरिबाना हुने कसूरजन्य कार्य गरेको भए निजलाई सम्झाइ बुझाइ छाड्नु पर्ने व्यवस्था छ । यदि, कैद हुने कसूरजन्य कार्य गरेको रहेछ भने कसूरको प्रकृति हेरी ६ महिनासम्म कैद सजाय वा कैद नगरी बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राख्नुपर्ने व्यवस्था छ । बाल अधिकार ऐन, २०७५ को परिच्छेद–४ को बाल न्यायसम्बन्धी व्यवस्थाको दफा ३६ को उपदफा २ मा दश वर्ष वा सो भन्दा माथि र १४ वर्षभन्दा कम उमेरको बालबालिकाले जरिवाना हुने कसूरजन्य कार्य गरेको भए निजलाई सम्झाइ बुझाइ छाडिनेछ र कैद हुने कसूजन्य कार्य गरेको भए कसूरको प्रकृति हेरी ६ महिनासम्म कैद सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राख्न पाउने व्यवस्था छ ।
जातीय तथा अन्य छुवाछूत र भेदभाव कसूर र सजाय ऐन, २०६८ को दफा ७ मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । यस्तै, मुलुकी अपराध संहित ऐन, २०७४ को परिच्छेद १० को भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर अन्तर्गतको दफा १६० को उपदफा १ मा उत्पत्ति, धर्म, जात, जातिको आधारमा भेदभाव तथा छुवाछूत गरेमा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिबान वा दुवै सजाय हुने व्यवस्था छ ।