
माघ २७
रामेछाप– रामेछापको सदरमुकाम मन्थली स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरी बिहिबारबाट सञ्चालन गरिएको हो ।
अस्पतालमा एक कार्यक्रमका बिच मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले उद्घाटन गर्नुभएको मन्थली नगरापालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक संरचना बनाएर अस्पताल सञ्चालनमा ल्याइएको भएपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछाप मार्फत नौं करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँमा श्री गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौंले १५ शैय्याको अस्पताल निर्माणको काम गरिरहेको छ ।
अस्पताल सञ्चालनमा आएसँगै विशेषज्ञता हासिल डाक्टर अभावको कारणले अवरुद्ध रहेको आकस्मिक जटिलता युक्त प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र पनि फागुन १ गतेबाट सञ्चालनमा आउने पनि उहाँले जानकारी दिनुभयो । सो सेवा सञ्चालनमा नआउँदा शल्यक्रिया गर्नुपर्ने महिलालाई बाहरि पठाउनु पर्ने अवस्था थियो ।