Explore the Radio Tinlal in shortly.

शल्यचिकित्साको दोरम्बा शिविरमा ३ सय ३३ जनाले लिए सेवा

0

०६ चैत्र २०७८
रामेछाप
तीलगंगा अस्पतालको जनशक्ति र प्राविधिक सहयोगमा रामेछापको दोरम्बामा बिहिबारदेखि सुरु भएको मोतीबिन्दु शल्यचिकित्साको दोरम्बा शिविरबाट ३ सय ३३ जनाले सेवा लिएका छन् । बिहिबारदेखि सुरु भएको शिविरको पहिलो दिन १४१ जना, दोस्रो दिन शुक्रबार १११ जना र तेस्रो दिन शनिबार ८१ जना गरी कुल ३३३ जना आँखाका बिरामीहरुले सेवा लिएका दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. २ का वडा अध्यक्ष खड्ग श्रेष्ठले बताउनुभयो । दोरम्बा आँखा शिविरमा रामेछाप, सिन्धुपाल्चोक र दोलखासहितका जिल्लाबाट आएका आँखाका बिरामीहरुले सेवा लिएका थिए । गरिब एवं स्वास्थ्य पहुँचमा नरहेका जनसाधारणको निःशुल्क आँखा उपचार गर्ने भनेर स्थापित द तेज कोहली एन्ड रुइत फाउन्डेसनले ’दोरम्बा मोडल’ को नाममा यो शिविरको उदाहरणलाई बाहिरी मुलुकमा लैजाने भएको छ । शिविरमा दुबै आँखा नदेख्ने बिरामीले समेत सेवा लिएका छन् । आँखा शिविरमा डा. सन्दुक रुइतको नेतृत्वमा बाहिर मुलुकबाट आएका प्रशिक्षार्थी चिकित्सकहरुको सहभागिता रहेको थियो । केही महिनाअघि विश्वभर विपन्न तथा सीमान्तकृत जनसंख्यामा रहेको दृष्टिविहीन अवस्थालाई निर्मूल गर्न नेत्र चिकित्सक रुइतले प्रसिद्ध व्यवसायी एवं ‘आर्टिफिसियल इन्टेलिजेन्स’ का अभियन्ता तेज कोहलीसँग सहकार्य गर्दै फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् ।

Leave A Reply

Your email address will not be published.