Explore the Radio Tinlal in shortly.

१२ वर्षीया नाबालिकालाई २१ घण्टासम्म बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नासम्बन्धी मुद्दालाई गम्भीर रुपमा अघि बढाउन आयोगको निर्देशन

0

०५ चैत्र २०७८
रामेछाप
घरभित्र प्रवेश गरेकै कारण रामेछापको मन्थली नगरपालिकाको भलुवाजोरकी १२ वर्षीया नाबालिकालाई छिमेकीले २१ घण्टासम्म घरको थाम र दलीनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको घट्नाबारे राष्ट्रिय दलित आयोगले चासो देखाएको छ ।
नेपालको संविधान २०७२ को धारा २४ मा कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाको आधारमा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, संविधानको धारा २२ मा यातना विरुद्धको हकको व्यवस्था गरिएको छ । जसमा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई समेत शारीरिक वा मानसिक यातना दिन नहुने र निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ । तर, विद्यमान व्यवस्थालाई नै चुनौती दिनेगरी गत फागुन ३० गते मंगलबार मन्थली नगरपालिकाको वडा नं. ६ भलुवाजोर बस्ने ६३ वर्षीय शेर बहादुर श्रेष्ठले सोही स्थान बस्ने १२ वर्षीया सरिता नेपालीलाई घरको थाम र दलीनमा बाँधेर सिस्नो लगाउँदै कुटपिट गरेका थिए ।
सोही घटनाबारे बुझ्न शनिबार सदरमुकाम मन्थलीमा आएको राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटीको नेतृत्वको टोलीले घटना स्थलमा पुगेर अध्ययन गरेको हो । पिडित नाबालिका नेपालीलाई बाँधेर यातना दिइएको स्थलमै पुगेर आयोगको टोलीले घटनाबारे जानकारी लिएको छ । आयोगका सदस्य सुन्दर पुर्कोटी, कानून व्यवसायी यमकुमारी गडेल, मन्थली नगरपालिका वडा नं. ६ की कार्यवाहक वडा अध्यक्ष कमला बस्यल, मानव अधिकारकर्मी, सुरक्षाकर्मी र पत्रकारसहितको टोलीले घटना स्थलमा पुगेर पिडित र पिडितका आफन्त र वरपरका स्थानीयहरुसँग घटनाबारे जानकारी लिएका थिए । त्यस क्रममा पिडक श्रेष्ठले आफूलाई घरभित्र पसेर दही खाएकै कारण घरको थाम र दलिनमा नाम्लोले बाँधेर अघिल्लो दिन फागुन ३० गते सोमबार अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट चैत १ गते मंगलबार दिउँसो १२ः०० बजेसम्म सिस्नो लगाई लठ्ठीले कुटपिट गरी यातना दिएको पिडित नाबालिका नेपालीले बताएकी छिन् । सानो जातकी अर्थात् दलित जातकी नाबालिका आफ्नो घरभित्र पसेको भन्दै पिडक श्रेष्ठले चार घण्टा हात खुट्टा बाँधेर दलीनमा झ्ण्ड्याएर र बाँकी १७ घण्टा थाममा बाँधेर सिस्नो लगाउँदै लठ्ठीले कुटपिट गरेको पिडित नेपालीले बताएकी हुन् ।
पिडक श्रेष्ठको कुटपिटपछि अघिल्लो दिन सोमबार बेलुका करिब ८ः०० बजेपछि आफू बेहोस हुन पुगेको र त्यसपछि आफूलाई केही थाहा नभएको पिडित नाबालिका नेपालीले बताइन् । पिडक श्रेष्ठले रातको समयमा आफ्नो घरमा आएर आमा र भाइसहित आफूलाई अश्लील र अपशब्द गरी गरी गाली गलौज गर्ने गरेको पिडित नाबालिकाले सुनाइन् । अहिले पनि राती घरमै आएर पिडक श्रेष्ठको श्रीमती बाल कुमारी श्रेष्ठले धम्क्याउने गरेको नाबालिका नेपालीले बताइन् । यस्तै, आफूहरुले पिडित नाबाबालिकालाई छोडिदिन आग्रह गर्दा पिडक श्रेष्ठले दलित नाबालिका घरभित्र पसेपछि घरै अशुद्ध भएको र कुल, पितृ सबै नष्ट भएको भन्दै रुद्री लगाएर घर नचोख्याएसम्म नछाड्ने भनेर अघिल्लो दिन अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट दिउँसो १२ः०० बजेसम्म बाँधेर राखेको घटनका प्रत्यक्षदर्शी सार्के नेपाली र शंकर नेपालीले बताएका छन् ।
यस्तै, पिडित नाबालिकाका भाइ करिब ९ वर्षीय दिपक नेपालीले पनि आफ्नी दिदीलाई हात, खुट्टा र कम्मरमा बाँधेर राखेको आफूले देखेको बताएका छन् । आयोगका सदस्य पुर्कोटी र अधिवक्ता गडेलले शनिबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी लिनु भएको छ । जिल्ला प्रहरी कार्यालय पुग्नु भएका राष्ट्रिय दलित आयोगका सदस्य पुर्कोटी र अधिवक्ता यमकुमारी गडेलले पिडको अवस्थाबारे पनि जानकारी लिनु भएको हो ।
सोही क्रममा उहाँहरुले घटनाबारे पिडक शेरबहादुर श्रेष्ठलाई भेटेर जानकारी लिनुभएको थियो । त्यस क्रममा पिडक श्रेष्ठले दलित पसेपछि आफ्नो घर अशुद्ध भएको र कुल, पितृ, देवताहरु समेत नष्ट हुने भएपछि आफूले आवेगमा घरको थाम र दलिनमा बाँधेर सिस्नो लगाई कुटपिट गरेको बताउनुभयो । त्यसो गर्न नहुने रहेछ भन्ने कुरा अहिले आएर मात्रै आफूलाई थाहा भएको उहाँको भनाई छ ।
यसैबीच, आयोगका सदस्य सुन्दर पुर्कोटीले घटनासँग सम्बन्धित मुद्दा प्रक्रिया कसरी अघि बढ्दै छ ? भनेर जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठसमक्ष जिज्ञासा राख्नु भएको छ । जवाफमा प्रहरी निरीक्षक श्रेष्ठले पिडितका आफन्तले अहिले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गराएको बताउँदै घटनबारे अनुसन्धान भइरहेको बताउनु भएको थियो । त्यसपछि आयोगका सदस्य पुर्कोटीले घटनालाई तोड्मोड नगरी गम्भीर रुपमा अघि बढाउन आग्रह गर्नु भएको छ । विद्यमान् संविधान, ऐन, कानून र व्यवस्थालाई चुनौती दिने गरी भएको यस घटनासँग जोडिएको मुद्दालाई कुनै पनि कञ्जुस्याई नगरी अघि बढाउन प्रहरी निरीक्षक श्रेष्ठलाई उहाँले निर्देशन दिनुभयो । सरकारवादी भइ चल्ने मुद्दा भएकोले पिडितलाई न्याय दिलाउने ढङ्बाट यस मुद्दालाई अघि बढाउन आयोगका सदस्य पुर्कोटीले आग्रह गर्नुभयो । संविधान र व्यवस्था बमोजिम मुद्दालाई अघि बढाउनका लागि सम्बन्धित निकाय समक्ष आफूहरुले सिफरिस गर्ने समते उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.