Explore the Radio Tinlal in shortly.

निजी परियोजनाहरुको मनोमानीविरुद्धमा कडाईका साथ लाग्न वन मन्त्री खड्काको निर्देशन,,

0

माघ २३

रामेछापमा– बागमती प्रदेशका वन तथा वातारण मन्त्री विशाल खड्काले निजी परियोजनाहरुको मनोमानीविरुद्धमा कडाईका साथ लाग्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । आइतबार अपराह्न रामेछाप आइपुग्नु भएका वन तथा वातारण मन्त्री खड्काले साँझ जिल्लास्थित रहेका भू तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालय रामेछापको अनुगमन गर्नुभएको थियो । त्यसक्रममा जिल्लामा निजी परियोजनाहरुको मनोमानी बढ्दै गएको बताउँदै मन्त्री खड्काले त्यसका विरुद्धमा कडाइका साथ लाग्न दुई वटै कार्यालयलाई निर्देशन दिनुभयो । प्राकृतिक सम्पदामाथिको दोहनमा नेतादेखि ठेकेदार र तस्करहरु समेत लाग्ने भएको हुँदा कसैको दबाव र प्रभावमा नपरी आफूलाई सिंह सम्झेर आफ्नो अधिकारको उपयोग गरेर त्यस्ता गतिविधिहरुको नियन्त्रणमा लाग्न दुवै कार्यालयका कार्यालय प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभयो । मन्त्री खड्काले खोला, बगर तथा प्राकृति स्रोत साधनको उपयोगबारे इआइए भएनभएको बारेमा अध्ययन गरेर त्यसको प्रतिवेदन मन्त्रालयमा लिएर आउन दुई वटै कार्यालयका प्रमुखलाई निर्देशन दिनु भएको थियो । यस्तै, मन्त्री खड्काले सुख्खाग्रस्त क्षेत्रलाई हरियाली र वातावरणीयमैत्री बनाउनुको साथै समृद्धिको आधारसँग जोड्ने कुरामा सोच्नुपर्ने पनि बताउनु भएको छ । समाज र नागरिकको आर्थिक समृद्धिको आधारसँग जोड्ने कार्यक्रमहरु अघिल्लो सरकारको प्राथमिकतामा नपरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा प्राकृति स्रोत र साधनलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने कुरातर्फ आफूले योजना बनाउन लागेको बताउनुभयो । बाँसबाट गलैचा, पछ्यौरा, टिसियु पेपर बनाउन सकिने मात्र नभई विभिन्न प्रयोजनका लागि उपयोग हुने भएकोले सम्भावित क्षेत्रमा बास रोपण गर्नुपर्ने समेत उहाँले बताउनुभयो । यसैगरी, समाजिक, आर्थिक र स्वरोजगारमुखी कार्यक्रममा जोड दिँदै बहुवर्षीय आयोजनाहरु लिएर आउन मन्त्री खड्काले आग्रह गर्नु भएको थियो । विगतमा जलाधार कार्यालयका बोर्डहरु नागरिकको पहुँचभन्दा टाढा राख्ने र सकेसम्म बोर्ड नै नराख्ने प्रवृत्ति रहेको बताउँदै उहाँले नेताको सिफारिसको भरमा तार जाली बाड्ने काम मात्रै भएकोले अब संघीयताको मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । भू तथा जलाधार कार्यालय र वन कार्यालयहरु अहिलेसम्म व्यक्तिगत स्वार्थ र नेताहरुको आसेपासेको स्वार्थ पूरा गर्ने माध्यम मात्रै बनेका उहाँले बताउनुभयो । अब लोकतन्त्र र संघीयताको मर्म अनुसार नागरिकको हितमा काम गर्ने कुरामा केन्द्रि हुन दुवै कार्यालयका प्रमुखहरुलाई आग्रह गर्नुभयो । यस्तै, सिन्धुपाल्चोकको मेलम्ची, रामेछापको घ्याप्चेको पहिरो, दोलखाको लापिलाङ र सिन्धुलीको तटीय क्षेत्रको व्यवस्थापनमा मन्त्रालयले योजना बनाउने बताउनु भएको छ । सुख्खा याममा रामेछापमा वन डढेलोका घटनाहरु धेरै हुने भएकोले त्यसको नियन्त्रण र व्यवस्थापनमा ध्यान दिनपर्नेमा उहाँको जोड थियो । रामेछापमा विगतमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा सहादत प्राप्त गरेका नेपाली सेनाका १३ जना जवानको सम्झनामा के गर्न सकिन्छ त्यसबारे पनि प्रस्ताव लिएर आउन डिभिजन वन कार्यालय रामेछापका डिभिजनल अधिकृत रामकृष्ण केसीलाई आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.