Explore the Radio Tinlal in shortly.

“म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका, वैशाख ३० मा सूर्यमा मतदान नेकपा एमालेको आह्वान र अभियान”

0

४ फागुन २०७८

रामेछाप – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापले “म जिताउँछु मेरो वडा हामी जिताउँछौँ हाम्रो पालिका, वैशाख ३० मा सूर्यमा मतदान नेकपा एमालेको आह्वान र अभियान” भन्ने मूल नाराका आगामी आसन्न स्थानीय निर्वाचन केन्द्रित दुई महिने विशेष अभियानको कार्ययोजना घोषणा गरेको छ ।

मंगलबार पार्टी कार्यालय मन्थलीमा पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा यही फागुन १ र २ गते बसेको दोस्रो पूर्ण बैठक एवम् प्रशिक्षण कार्यक्रमले तयार पारेको दुई महिने अभियानको कार्ययोजना घोषणा गरेको हो । सरकारले आगामी २०७९ साल वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने घोषणा गरिसकेको छ । सोही निर्वाचनलाई लक्षित गरी एमाले रामेछापले फागुन ११ गते लिखुतामाकोशी गाउँपालिका, फागुन १२ गते मन्थली नगरपालिका, फागुन १३ गते दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकाका केन्द्रहरुमा विस्तारित बैठक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने नेकपा एमाले रामेछापले जनाएको छ ।

यस्तै, फागुन १४ गते सुनापती गाउँपालिका, उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिका तथा फागुन १५ गते गोकुलगंगा गाउँपालिकाका केन्द्रहरुमा पार्टीको विस्तारित बैठक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो । पालिकास्तरीय कार्यक्रममा सम्बन्धित भूगोलका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, केन्द्र, जिल्ला र पालिकास्तरका जनवर्गीय संगठनका सदस्यहरु, वडा कमिटीका पदाधिकारी, सल्लाहकार र जिल्ला प्रतिनिधि परिषद्का सदस्यहरु सहभागी हुनेछन् । यस्तै वडा तथा टोलहरुमा अन्तक्र्रिया एवम् सुझाव सङ्कलन सभा सञ्चालन गरिने भएको छ भने जिल्लामा बृहत् आमसभा गरिनेछ । बैठकले फागनु मसान्तभित्र सबै जनवर्गीय संगठनहरुको बैठक तथा भेला र प्रशिक्षण गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, बैठकले जिल्ला कमिटीका पदाधिकारीहरुको कार्य विभाजन पनि गरेको छ । पार्टी बैठकले जिल्ला कमिटीका अक्ष्यक्ष आनन्द श्रेष्ठलाई पार्टी स्कुल विभाग तथा जनसंगठन समन्वय विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको छ भने उपाध्यक्ष ईन्द्र बहादुर तामाङलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

यसैगरी, पार्टी सचिव पुरुषोत्तम कडेरियालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने उप–सचिवद्वय प्रकाश कुमार कार्कीलाई प्रचार विभाग प्रमुख र होतराज ढकाललाई निर्वाचन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले रामेछापले जनाएको छ । यस्तै, जिल्ला कमिटी सदस्य रामप्रसाद देवकोटालाई वित्त तथा कोष व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । अन्य सबै जिल्ला कमिटी सदस्यहरुलाई जनसंगठनको समन्वय गर्ने र पालिका संयोजन गर्नुपर्ने जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी, ६४ वटै वडामा इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी समेत तोकिएको छ । वर्तमान गठबन्धन सरकारले आफ्नो निहित स्वार्थसँग जोडेर स्वतन्त्र न्याय पालिकामाथि गरिएको ठाडो हस्तक्षेप, प्रधानन्यायाधीश माथिको महाअभियोग, महङ्गी, भ्रष्टाचार, बढ्दो सामाजिक विभेद, राज्यद्वारा सिर्जित विभिन्न घटनाहरुबारे बैठकले निन्दा र भत्सर्ना समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.