१४ फागुन २०७८
रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्थाहरुमा निःशुल्क इन्टरनेट सेवा सुरु भएको छ ।

शुक्रबारबाट गाउँपालिकामा रहेका ७९ वटा सामुदायिक विद्यालय र ३४ वटा सामुदायिक संस्थामा निःशुल्क इन्टरनेट सेवा सुरु भएको हो । नेपाल दुरसञ्चार प्राधिकरण खाँडादेवी गाउँपालिका र यरोनेटको संयुक्त सम्झौता अनुसार सम्पन्न भएको यो सेवाको बागमती प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले सुरुवात गर्नुभएको हो ।
निःशुल्क इन्टरनेट सुवा सुरु गर्नुहुदै सांसद पौडेलले प्रविधिको उचित प्रयोग गरी आफ्नो सेवालाई सुधार गरी प्रभावकारी बनाउन सामुदायिक विद्यालय तथा संस्थाहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निशुल्क गरिएको इन्टरनेट सेवाले सामुदायिक विद्यलय र संस्थाहरुको सेवा प्रवाहमा राम्रो सुधार हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षक महासंघ रामेछापका अध्यक्ष रामबहादुर श्रेष्ठ, उपाध्यक्ष चक्रलाल श्रेष्ठ, सचिव रामकृष्ण श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समेत आधुनिक प्रविधिको युगमा निशुल्क गरिएको इन्टरनेट सेवाले सहयोग पुग्ने बताउनुभयो ।
अप्टीकल फाइबार मार्फत सवै विद्यालय र समुदायिक स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरिएको छ ।