Explore the Radio Tinlal in shortly.

प्रहरी नायव उपरीक्षक थिङ आएसँगै अपराध नियन्त्रणमा रामेछाप प्रहरीको सक्रीयता बढ्यो, एकैपटक ६ जना फरार अभियुक्त पक्राउ

0

१० चैत्र २०७८
रामेछाप – प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङ आएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले अपराध नियन्त्रणमा थप सक्रियता बढाएको छ । प्रहरी नायव उपरीक्षक थिङ रामेछाप आएसँगै विभिन्न कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार सूचीमा रहेका ६ जना अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । विभिन्न कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्त ६ जना पुरुषलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । प्रहरीले उनीलाई बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीका प्रकाश सुनुवार रहेका छन् । उनलाई बैँकिङ कसूर मुद्दामा गत वर्ष २०७७ साल असार १९ गते अदालतले दोषी ठहर गरी चार दिन कैद र तीस हजार रुपियाँ जरिवानासहित फैसला सुनाएको थियो । उनलाई एक वर्षपछि यही चैत ६ गते आइतबार मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो ।
यस्तै, नकबजनी चोरी मुद्दाका फरार अभियुक्त रामेछाप नगरपालिका वडा नं. ८ डुम्रेखर्कका रामहरी खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नकबजनी चोरी मुद्दाका अभियुक्त खत्रीलाई २०६८ सालमा एक महिना पन्ध्र दिन कैद र ३८ हजार ७३७ रुपियाँ जरिबानासहितको फैसला सुनाएको थियो । उनलाई १० वर्षपछि काठमाडौँको कोटेश्वरबाट मंगलबार पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
यसैगरी, मुर्ति चोरी गर्ने दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ पासिवनका श्रीबहादुर मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । अभियुक्त मगरलाई २०६२ साल वैशाख २२ गते मुर्ति चोरी गरेको कसूरमा दोषी ठहर गरी ६ दिन कैद र एक लाख ३३ हजार ३३३ रुपियाँ जरिबानासहितको फैसला सुनाएको थियो । फरार अभियुक्त मगरलाई १६ वर्षपछि काठमाडौँको स्वयम्भुबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
यस्तै, बैँकिङ कसूर मुद्दाका फरार अभियुक्त मन्थली नगरपालिका वडा नं. ८ सालुका दामोदर काफ्ले पनि पक्राउ परेका छन् । फरार अभिुक्त काफ्लेलाई २०७६ साल मंसिर २५ गते बैँकिङ कसूर मुद्दामा दोषी ठहर गरी पन्ध्र दिन कैद र ११ लाख २५ हजार रुपियाँ जरिबाना तोकको थियो । फरार अभियुक्त काफ्लेलाई दुई वर्षपछि मंगलबार काठमाडौँको गोठ्ठाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, सरकारी कागजात दस्तखत किर्ते मुद्दाका फरार अभियुक्त सुनापती गाउँपालिका वडा नं. ३ हिलेदेवीका च्याङ्बा भनिने रोज बहादुर थिङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई अदालतले २०७३ साल चैत ८ गते सरकारी कागजात दस्तखत किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्षसम्मको कैद र ५० हजार रुपियाँ दण्ड जरिबानासहितको फैसला सुनाएको थियो । उनलाई पाँच वर्षपछि सुनापतीबाट मंगलबार पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
यसैगरी, बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त मन्थली नगरपालिका वडा नं. ४ सालुका गाण्डिव काफ्ले पनि पक्राउ परेका छन् । २०७६ साल असोज ५ गतेको अदालतको फैसला अनुसार बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका काफ्लेलाई ३१ लाख ७१ हजार आठ सय रुपियाँसहितको दण्ड जरिबाना तोकेको थियो । उनलाई तीन वर्षपछि काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सम्मानित अदालतहरुबाट विभिन्न समयमा भएको फैसला अनुसार कैद तथा जरिबाना असुल उपर गर्न बाँकी भई फरार रहेका मानिसहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत रामेछापमा पेश गरी फैसला कार्यान्वयनमा तदारुकता दिन जिल्लाभित्र र बाहिर सादा पोशाकमा प्रहरी कर्मचारी खटाई सूचना सङ्कलन तथा विश्लेषण गरी पक्राउ गर्ने कार्यलाई तीब्र बनाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.