२०७८ चैत १४ गते
रामेछाप – १२ वर्षीया नाबालिकालाई घरभित्र प्रवेश गरेको कारण २१ घण्टासम्म घरको थाम र दलिनमा नाम्लोले बाँधेर कुटपिट गरेको घटनाबारे राष्ट्रिय महिला आयोगले पनि छानबीन थालेको छ । गत फागुन ३० गते रामेछापको मन्थली नगरपालिका वडा नं. ६ भलुवाजोर बस्ने ६३ वर्षीय शेर बहादुर श्रेष्ठ दम्पतीले छिमेकी १२ वर्षीय सरिता नेपालीलाई घरभित्र प्रवेश गरेकै कारण घरको थाम र दलिनमा नाम्लोले बाँधेर सिस्नु लगाई २१ घण्टासम्म यातना दिएका थिए । सानो जातकी नाबालिका घरभित्र प्रवेश गरेको भन्दै उनीहरुले शारीरिक र मानसिक रुपमा विक्षिप्त हुने गरी सिस्नो लगाई बाँधेर कुटपिट गरेका थिए । छोरा रोशन श्रेष्ठले पनि रुद्री लगाएर घर नचोख्याएसम्म बाँधेर राख्नु भनेर फोनमार्फत निर्देशन दिएको पीडक शेर बहादुर श्रेष्ठको श्रीमती बालकुमारी श्रेष्ठले बताउनु भएको थियो । उनीहरुले अघिल्लो दिन फागुन ३० गते सोमबार अपराह्न ४ः०० बजेदेखि भोलिपल्ट चैत १ गते मंगलबार दिउँसो करिब साँढे १२ः०० बजेसम्म बाँधेर पीडित नाबालिका नेपालीलाई यातना दिएका थिए ।
घरभित्र पसेर दही खाएको कारण नाबालिका नेपालीलाई बाँधेर राखेको खबर सुनेपछि पीडित नाबालिकाका ठूलोबुबा, काका, जनप्रतिनिधि, शिक्षक लगायतका व्यक्तिहरुले पीडित नाबालिका नेपालीलाई यसरी बाँधेर नराख्न अनुरोध गरेका थिए । तर, पीडक शेरबहादुर श्रेष्ठ दम्पत्तीले दलित नाबालिका घरभित्र पसेपछि आफ्नो घर अशुद्ध भयो, कुल, पितृ सबै नष्ट भयो भन्दै रुद्री पूजा लगाएर घर नचोख्याएसम्म पीडित नाबालिकालाई नछाड्ने अडान कायम राख्दै बाँधिरहेका थिए । त्यसपछि जनप्रतिनिधि र शिक्षकले प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले पीडित नाबालिकालाई उद्दार गरेको थियो । त्यसपछि पीडितका आफन्तले पिडक शेरबहादुर श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धक र जातीय छुवाछुत तथा भेदभाव कसुरमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दिइसेका छन् । जातीय छुवाछुत तथा भेदभाव कसुर सम्बन्धी प्रहरीमा दर्ता भएको जाहेरीमा पीडक शेर बहादुर श्रेष्ठको श्रीमती बालकुमारी श्रेष्ठ र कान्छा छोरा रोशन श्रेष्ठलाई समेत प्रतिवादी बनाइएको छ । पीडक शेरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखेको छ । तर, शेरबहादुरको श्रीमती र छोरालाई भने हालसम्म नियन्त्रणमा लिएको छैन ।
प्रहरी नियन्त्रणमा रहेका पीडक श्रेष्ठविरुद्ध प्रहरीले सम्मानित जिल्ला अदालत रामेछापबाट दुई पटक म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ । घटनाबारे अध्ययन गर्न आइतबार आएको राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेको टोलीले सम्बन्धित घटना स्थलमा पुगेर घटनाबारे छानबीन गरेको थियो । सोही क्रममा पीडित नाबालिकाले आफूलाई श्रेष्ठ दम्पतीले घरको थाम र दलिनमा नाम्लोले हात खुट्टा र कम्मरमा बाँधेर सिस्नु लगाइँ कुटिपिट गरेका बताएकी थिइन् । पीडित नाबाकालिकाको आमा र आफन्तले पनि सोही कुरा बताएका थिए ।
आफूहरुले नाबालिकालाई छोडिदिन पीडक श्रेष्ठ दम्पतीसँग आग्रह गर्दा घर रुद्री लगाएर नचोख्याएसम्म नछाड्ने अडान राखेर बाँधिरहेको बताएका थिए । त्यसपछि आयोगकी सदस्य घिमिरेले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङसँग भेटेर संविधान, कानून र व्यवस्थालाई नै चुनौती दिने गरी भएको यस घटनालाई मेलमिलाप प्रक्रियाबाट नभई कानूनी प्रक्रियाबाटै अघि बढाउनुपर्ने बताउनुभयो । सोही बमोजिम यस घटनालाई अघि बढाई दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउन उहाँले निर्देशन दिनुभयो । आयोगकी सदस्य घिमिरेले घटनामा संलग्न दोषीलाई कारबाही गराउने विषयमा आयोगको पूर्ण साथ रहने उहाँको भनाई थियो । प्रतिवादी श्रेष्ठको श्रीमती र छोरालाई समते यथाशिघ्र नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाउन उहाँले निर्देशन दिनुभयो । जवाफमा प्रहरी नायव उपरीक्षक थिङले अदालतको अनुमती प्राप्त हुनसाथ पक्राउ गरी अनुसन्धान अघि बढाउने बताउनुभयो । यसैबीच, जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङलाई पनि आयोगकी सदस्य घिमिरेले दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउने कुरामा गम्भीर भएर साथ दिन आग्रह गर्नुभयो । जवाफमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले भने गैर जिम्वारीपूर्ण जवाफ दिँदै छुवाछूतको विषय अहिले एक्कासी नहट्ने बताउँदै यसको अन्त्यको लागि दलित एक जुट भएर लाग्नुपर्ने बताउनु भएको थियो ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय रामेछापले पीडक शेरबहादुर श्रेष्ठको श्रीमती बालकुमारी श्रेष्ठ घरमा नभएको कारण हालसम्म नियन्त्रणमा लिन नसकिएको बताएको छ । जिल्ला अदालत रामेछापले आइतबार बालकुमारी र रोशन श्रेष्ठलाई पक्राउ गर्न अनुमती दिएको थियो । अदालतको अनुमतीपछि बालकुमारीलाई नियन्त्रणमा लिन जाँदा घरमा नभेटिएकोले हालसम्म नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । प्रहरी निरीक्षक श्रेष्ठले मन्थली विद्युत् प्राधिकरणमा कार्यरत रोशन श्रेष्ठलाई अहिले मन्थली बाहिर रहेकोले नियन्त्रणमा लिन नसकिएको बताउनु भएको छ । पीडक श्रेष्ठ मन्थली आएपछि पक्राउ गरिने उहाँले बताउनुभयो ।