Explore the Radio Tinlal in shortly.

मन्थली खानेपानी उपभोक्ता समितिको लापरबाहीः नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित

0

२०७९ जेठ १६
रामेछाप – रामेछाप जिल्लाको मन्थली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकाम मन्थलीका नागरिक स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । स्वच्छ खानेपानी पाउनुपर्ने नागरिकको हकलाई संविधानले ग्यारेण्टि गरेको छ ।
नेपालको संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था छ । मौलिक हकअन्तर्गतको धारा ३५ मा रहेको स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ, भनिएको छ । तर, संविधानले गरेको यो व्यस्थालाई नै चुनौती दिनेगरी समितिले नागरिकको धारासम्म स्वच्छ खानेपानी नपठाउँदा मन्थलीबासी नागरिकहरु अस्वस्थ पानी खान बाध्य भएका हुन् ।

समितिले मन्थली नगरपालिका वडा नं. १ स्थित सैनिक ब्यारेकभित्र रहेको खानेपानीको ट्याङ्कीबाट उपभोक्ताको धारासम्म खानेपानी पठाउँदै आएको छ । त्यस ट्याङ्कीबाट पठाइने पानी मन्थली बजार र बजार आसपासका अन्य क्षेत्रमा गरी १ हजार धारामा झर्ने गर्दछ । नागरिकले पानी प्रयोग गरेबापतको शुल्क कम्तिमा पनि ६ सय रुपैयाँ तिर्दै आएका छन् । खानेपानी प्रयोग गरेबापत नागरिकले तिरको मासिक शुल्क बापतको रकमबाट महिनामा ६ देखि ७ लाख रुपैयाँ जम्मा हुने गरेको समितिले जनाएको छ । तर, मन्थलीका बसोबास गर्दै आएका नागरिकले भने पैसा तिरेर पनि स्वच्छ खानेपानी पिउन पाएका छैनन् । खानेपानी तथा सरसफाई उपभोक्ता समिति र त्यहाँ काम गर्न खटिएका कर्मचारीको लापरबाहीका कारण नागरिकहरु फोहोर पानी पिउन बाध्य छन् । विश्वास श्रेष्ठ नामका एक व्यक्तिले समाजिक सञ्जालमार्फत समितिले वितरण गर्दै आएको खानेपानी ट्याङ्कीको भिडियो सार्वजनिक गरेका थिए । त्यस भिडियोमा खानेपानी ट्याङ्कीभित्रको पानीमा काठका टुक्रा, लेउ, भ्यागुता र किरा फट्याङ्ग्रा तैरिरहेको देखिन्छ । झट्ट हेर्दा माछा पोखरी जस्तो देखिन्छ । केही समय अघि घरका धाहरुमा खानेपानी धमिलो आएको र यो पानी पिउँदा मन्थलीका धेरै मानिसमा स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि आफुहरु खानेपानीको ट्ङ्की खोज्दै गएको मन्थलीका युवा विश्वास श्रेष्ठले बताउनुभयो । नेपाली सेनाको ब्यारेकभित्र रहेको खानेपानी ट्याङ्कीको अवस्था हेर्दा मन्थली खानेपानी उपभोक्ता समितिले फोहोर पानी वितरण गरेरे नागरिकको स्वास्थ्यसँग खेलवाड गरिरहेको महशुस भएको उहाँले बताउनुभयो । उहाँले पानी जम्मा गर्ने पोखरी पुरै खुला रहेको र जम्मा भएको पोखरीमा पुरै लेउँ लागेको, भ्यागुता र किरा फट्याङ्ग्रा रहेको बताउनुभयो । पानी ट्याङ्की पुरै खुला भएकाले जंगली जनावर र चराचुरुङ्गीले पनि पानी पुरै फोहोर बनाएको उहाँले बताउनुभयो ।

यता मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पूर्ण सुवेदीले सामाजिक सञ्जालमा आएको कुरा पूर्ण रुपमा गलत रहेको बताउनुभयो । भिडियोमा हेर्दा खानेपानी ट्याङकीमा लेउ लागेर फोहोर देखिए पनि यो लेउ खानेपानी विभागको सल्लाह अनुसार पानी फिल्टर गर्न रणजोर खोलाबाट लगेर हालेको उहाँको भनाइ छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्राविधिकहरुको सल्लाहा अनुसार पानी जमाउने पोखरीमा पानीलाई विषालु पार्ने किटाणु खाने किरा र लेउ प्रयोग गरिएको उहाँले बताउनुभयो । देख्दा फोहोर जस्तो देखिए पनि खानेपनी कार्यालयले खुला आकाशमुनी पोखरी राखेर फिल्टर सिस्टम बनाएको उहाँले बताउनुभयो । यता सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सबइन्जिनियर सन्तोष कुमार ठाकुरले भने पानी फिल्टर गर्न लेउ, किरो र काठका टुक्राहरु राख्ने कुरा आफुलाई थाहा नभएको बताउनुभयो । पानी फिल्टरका लागि बालुवा र पाइपका टुक्राहरु प्रगोग गरिए पनि समय समयमा सफा गरी परिवर्तन गरिरहनुपर्ने उहाँको भनाइ छ । यस ट्याङ्कीको अवस्था हेर्दा यहाँबाट अहिले वितरण भइरहेको पानी स्वास्थ्यका लागि उपयुक्त नहुने देखिएको उहाँले बताउनुभयो ।
यसैबिच मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समिति खानेपानी वितरण ट्याङ्की फाहोर भएको गुनासो बढेपछि जिल्लाका सरोकारवाला निकायले खानेपानी वितरण ट्याङ्की क्षेत्रको निरिक्षण गरेको छ । सोमबार मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रतिनिधि लगायतको टोलीले त्यो क्षेत्रको निरिक्षण गरेको हो । अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले उक्त ट्याङ्कीमा रहेको पानीको नमूना परीक्षण गर्न निर्देशन दिनुभयो । यस्तै, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले उक्त खानेपानी ट्याङ्कीको व्यवस्थापन र सरसफाइमा समितिको कमजोरी देखिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.