२३ फागुन २०७८
रामेछापको सदरमुकाम मन्थली सहर व्यवस्थापनको लागि पँचास करोड रुपियाँ बजेटको परियोजना मन्थली नगरपालिकाले प्राप्त गरेको छ । मन्थली सहर व्यवस्थापनको लागि सघन सहरी विकास कार्यक्रममार्फत सहरी विकास मन्त्रालयबाट एडिबी परियोजना अन्तर्गतको ५० करोड रुपियाँ बजेट बराबरको परियोजना मन्थली नगरपालिकाले प्राप्त गरेको हो ।
सहर व्यवस्थापन कार्यक्रमको लागि नगरपालिकाले गरेको प्रस्तावपछि सहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा उक्त परियोजना प्राप्त भएको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को कार्यक्रमको लागि २० करोड रुपियाँ बजेटको कार्ययोजना पेश गर्ने तयारी गरिसकेको उहाँले बताउनुभयो ।
बहुवर्षीय योजना अन्तर्गतको यस परियोजनाको पहिलो वर्ष अर्थात चालु आर्थिक वर्ष २० करोड रपियाँको कार्यक्रम पेश गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार यो परियोजना तीन वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ । परियोजनाले मन्थली सहरको ढल निकास, सडक, नाला, बस्ती विकास, मिनी मार्केट र डम्पीङ साइडहरुको निर्माण तथा व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने नगरप्रमुख वस्नेतले बताउनुभयो ।
बजार क्षेत्र आसपास भर्खरै खुलेका धुले सडकको कालोपत्रे गरिनुको साथै बजार क्षेत्रभित्र रहेका ६ मिटर चौडा सडकहरुको कालोपत्रे गरिने उहाँले बताउनुभयो । अहिले आकाशे क्षेत्रका सहरी बस्तीहरु सडक तथा नालाहरुको अभावमा अव्यवस्थित रहेको बताउँदै उहाँले त्यस क्षेत्रको व्यवस्थापनको गरिने उहाँले बताउनुभयो । तर, त्यसको लागि आवश्यक जग्गाहरुको व्यवस्थापन भने नागरिक आफैँले गनुपर्ने उहाँको भनाई थियो ।
विगतमा निर्माण भएको पुष्पलाल लोक मार्ग सानो भएको र अहिले त्यसलाई बढाउन सकिने अवस्था नरहेको बताउँदै नगरप्रमुख वस्नेतले मन्थली सहरभन्दा बाहिरबाट बाइपास सडकको निर्माण गरिने बताउनुभयो । जसले गर्दा बस्तीको विकास हुने र नेपाल सरकारले ल्याएको मापदण्ड अनुसारका सहर तथा वस्ती विकासमा पनि सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । कटहरबोटदेखि यताको दक्षीण भाग र पूर्वी भागतर्फका क्षेत्रका बस्तीमा ढल निकासको काम अहिले ढल निकास तथा खानेपानी कार्यालयको बजेट मार्फत समितिले गरिरहेको उहाँले बताउनु भएको छ । ढल निकास तथा खानेपानी कार्यालयको बजेटबाटै त्यस कामलाई पूर्णता दिने गरी सम्झौता गरिने नगरप्रमुख वस्नेतले बताउनुभयो । नगरको प्रस्ताव अनुसार बजेट उपलब्ध गराइदिनु भएकोमा सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई नगरप्रमुख वस्नेतले धन्यवाद समेत व्यक्त गर्नुभयो ।