०५ चैत्र २०७८
रामेछाप
स्वदेशी लगानीमा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ४५६ मेगावाट अन्तर्गत निर्माण भएको देशकै दोस्रो ठूलो सवस्टेशन सञ्चालनमा आएको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा उद्घाटन गर्नुभएसँगै जिल्लाको मन्थली नगरपालिका वडा नं १३ फुलासीको देवीटारमा निर्मित देशकै दोश्रो ठूलो २२०÷१३२ नयाँ खिम्ती सबस्टेशन सञ्चालमा आएको हो । नयाँ खिम्ती सबस्टेशन ढल्केबर सबस्टेशन पछिको देशकै ठुलो भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो । नयाँ खिम्ती सबस्टेशनबाट ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली, ५२.४ मेगावाट क्षमताको लिखु दोश्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको उहाँले बताउनुभयो ।
आयोजनाका प्रमुख श्रेष्ठका अनुसार एक अरब रुपैयाँ भन्दा बढी लागतमा बनेको यो सबस्टशेनमको कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने क्षमता छ । गत साउनको अन्तिम साता सो सबस्टेशन चार्ज गरिएको थियो । नयाँ खिम्ति सबस्टेशनमा आठवटा २२० केभी ग्याँस इन्सुलेटेट स्वीचगियर वे र ६ वटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर वे रहेका छन् । साथै, सब–स्टेशनमा २२०÷१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सब–स्टेशनमा हाल करिब ५५ रोपनीमा २२०÷१३२ केभी नयाँ खिम्ती सबस्टेशन निर्माण भएको छ । दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा अर्थात् ४५६ मेगावाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ ।
सबस्टेशनको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागिता थियो । सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ । सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।