स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको पहिलो दिन आज रामेछापका ३९ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला दुई नगरपालिका र ६ वटा गाउँपालिका अन्तर्गत ६४ वटा वडा रहेका छन् । आगामी स्थानीय तह निर्वाचनमार्फत ती सबै स्थानीय तहमा ३ सय ३६ नयाँ जनप्रतिधि निर्वाचित भएर आउने छन् । जसका लागि जिल्लामा १ हजार ९ सय २० जनाको मनोनयन दर्ता हुँदैछ । तर, सबै राजनीतिक दलले छुट्टाछुुट्टै उम्मेदवारको लागि मनोनयन दर्ता गराउने सम्भावना निकै कम देखिएको छ । दलहरुले छुट्टछुुट्टै मनोनय दर्ता गराएमा एउटा दलबाट पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसहित ३ सय ३६ जनाले मनोनयन दर्ता गराउनुपर्ने हुन्छ । जिल्लामा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा नेपाल लगायतका दलले छुट्टाछुुट्टै उम्मेदवारी मनोनयन दर्ता गराएमा नगरपालिका प्रमुख÷उपप्रमुख गरी १२ जना, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष गरी ७२ जना, वडा अध्यक्षका लागि ३ सय ८४ जना, खुला सदस्य दुई जना, महिला सदस्य एक जना र दलित महिला सदस्य एक जनासहित १ हजार ९ सय २० जनाको मनोनयन दर्ता हुनेछ । तर, दलहरु गबन्धन गर्ने कसरतमा जुटिरहेकाले गबन्धनमार्फत चुनावी तालमेल गरेर अघि बढ्ने दलहरुले साझा उम्मेदवार उठाउने भएकोले यतिको संख्यामा मनोनयन दर्ता नहुने देखिन्छ । पालिका निर्वाचनको लागि हिजोदेखि सुरु भएको मनोनयन दर्ताको पहिलो दिन पाँच जना स्वतन्त्रसहित ३६ जनाको मनोनय दर्ता भएको निर्वाचन कार्यालय रामेछापले जनाएको छ । हिजो मन्थली नगरपालिकामा स्वतन्त्रबाट प्रमुख र उपप्रमुखको लागि मनोनयन दर्ता भएको छ । सोही नगरपालिकाको वडा नं. १० को वडा अध्यक्ष पदको लागि स्वतन्त्रबाटै मनोनयन दर्ता भएको छ । यस्तै, दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ५ को वडा अध्यक्ष पदको लागि स्वतन्त्रबाट मनोनयन दर्ता भएको छ भने वडा नं.६ मा वडा अध्यक्षका लागि राप्रपाबाट मनोनयन दर्ता भएको छ । यसैगरी, गोकुलगंगा गाउँपालिकाको वडा नं. ६ मा वडा अध्यक्षका लागि एक जनाको स्वतन्त्रबाट मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यालय रामेछापका अनुसार सुनापती गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष र पाँच वटै वडाका वडा अध्यक्ष र वडा सदस्यसहितको मनोनयन दर्ता गराएको छ । यसैबीच, एमालेकोतर्फ बाट खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठले मनोनय दर्ता गराउनु भएको छ भने उपाध्यमा रमा घिसिङले मनोनयन दर्ता गराउनु भएको छ । सोही गाउँपालिका अध्यक्षको लागि मंगोल अर्गनाइजेशनबाट यम बहादुर मोक्तानले मनोनयन दर्ता गराउनु भएको छ भने उपाध्यक्षको लागि दिलमाया मोक्तानले मनोनयन दर्ता गराउनु भएको छ । तर, मनोनयन दर्ताको पहिलो दिन हिजो चुनावी तालमेल गरेर अघि बढ्ने विषयमा लामो समयदेखि छलफलमा जुटिरहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने जिल्लाका कुनै पनि स्थानीय तहमा मनोनयन दर्ता नगरेको निर्वाचन कार्यालय रामेछापले जनाएको छ । यही वैशाख ३० गते स्थानी तहको निर्वाचन हुँदैछ ।