
माघ २७
रामेछाप– सोलुखुम्बुको खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन् । एक हप्तायतादेखि नेटवर्क आउने–जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको स्थानीय बासिन्दाले बताएका हुन् ।
खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बार बन्द भइरहँदा कार्यालयको सेवामा समेत समस्या भएको स्थानीयवासी अमृत मगरले बताउनुभयो । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत प्रभावित हुने भएकाले कार्यालयको काम नै प्रभावित हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
कार्यालयको प्रायजसो कार्यहरु इमेल इन्टरनेटको माध्यमबाट हुने भएकाले फोन र इन्टरनेट बन्द हुने बित्तिकै विमानस्थल कार्यालयको काम नै अस्तव्यस्त हुने गरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख विक्रम सिंह बस्नेतले बताउनुभयो । सोलुखुम्बुको क्याम्जे टावरको अटो ब्याकपले काम नगर्दा खुम्बु क्षेत्रको नेटवर्क प्रभावित बनेको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । त्यस क्षेत्रमा परेको बाक्लो हिमपातले गर्दा केही दिनयता क्याम्जे टावरमा जान नसकेको कारण ब्याकप सञ्चालन गर्न नसकेको उहाँले बताउनुभयो । आफूले टेलिकम शाखा सल्लेरीलाई समस्या समाधानका लागि निर्देशन दिइसकेको पन्थीले बताउनुभयो