Explore the Radio Tinlal in shortly.

निर्वाचन आचारसंहिता कार्यान्वयन र चुनावी प्रचार प्रसारमा हुने खर्चलाई कम गर्नुपर्नेमा सरोरकारवालाको जोड

0

३ फागुन २०७८

रामेछाप -रामेछापका सरोरकारवालाहरुले निर्वाचन आचारसंहिताको कार्यान्वयन र चुनावी प्रचार प्रसारमा हुने खर्चलाई कम गर्नुुपर्नेमा जोड दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापद्वारा छैटौँ निर्वाचन दिवसको अवसरमा सदरमकाम मन्थलीमा आज आयोजित ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउने हो भने निर्वाचन सम्बन्धी आचारसंहिताको कार्यान्वयन र राजनीतिका दल तथा दलका उम्मेद्वारहरुले गर्ने चुनावी प्रचारप्रसार खर्चमा कडाई गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सबै राजनीतिक दलहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले कम खर्चमा निर्वाचन गराउने कुरामा पहल भएपनि हालसम्म सफल हुन नसकिएको उल्लेख गर्दै आगामी दिनमा कम खर्चमा निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । अहिले सरकारले नचाहे तोकिएको समयमा निर्वाचन गर्न नसकिने अवस्थालाई अन्त्य गरी सयम अवधि पुगेपछि निर्वाचन आयोग स्वयमले आवधिक निर्वाचन गराउन सक्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र रामेछापका एक नेताले निर्वाचन आचारसंहितालाई अक्षरशः कार्यान्वयन गर्नुपर्ने बताउँदै त्यसो गर्न नसकेमा भ्रष्टाचार बढ्ने र जनप्रतिनिधिहरुमा भ्रष्टीकरण प्रवृत्ति मौलाउँदै जाने बताउनुभयो । यसैगरी, नागरिक अभियान्ता विचारसंह दोङले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने हो भने निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दल र सम्बन्धित दलको उम्मेद्वारलाई निर्वाचनमा सहभागी हुन नपाउने नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, अर्का एक सहभागीले निर्वाचको समयमा राजनीति दल र सम्बन्धित दलका उम्मेद्वारले गर्ने खर्च कम गर्ने हो भने चुनावी प्रचारप्रसार अवधिलाई छोट्याउनुपर्ने बताउनुभयो । यसैगरी, कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सबै दलहरुले पैसावाला व्यक्तिलाई मात्रै टिकट दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । त्यसो गर्न सकिएमा चुनावको समयमा राजनीतिक दलहरुले गर्ने खर्चलाई कम गर्न सकिने उहाँको धारणा थियो । यस्तै, कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले चुनावी खर्च प्रणाली बढ्नु लोकतन्त्र र प्रजातन्त्रको लागि घातक हुने बताउनुभयो ।

व्यक्ति मात्र नभई आफ्नो पार्टीको उम्मेद्वारलाई जिताउने अभियानमा सम्बन्धित पार्टीका नेता तथा कार्यकर्ता लागेमा चुनावी खर्चलाई कम गर्न सकिने उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारीले पहाडीले सबै राजनीतिक दल, प्रशासन र नागरिकहरुले निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सोही बमोजिम निर्वाचन गराउने प्रतिबद्धता जनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.