६ फागुन २०७८
रामेछाप – रामेछापका १ लाख ७७ हजारभन्दा बढी मतदाता कायम भएका छन् । जिल्लामा हालसम्म कायम भएको मतदाता संख्या १ लाख ७७ हजार ९१६ जना रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म कायम रहेको मतदाता संख्या अनुसार जिल्लाको मन्थली नगरपालिकामा ३६ हजार ९७५ जना, रामेछाप नगरपालिकामा २४ हजार ७४८ जना, उमाकुण्ड गाउँपालिकामा १६ हजार २०४ जना, खाँडादेवी गाउँपालिकामा २२ हजार ३७५ जना, गोकुलगंगा गाउँपालिकामा १८ हजार ४६४ जना, दोरम्बा शैलुङ गाउँपालिकामा २० हजार ७५६ जना, लिखुतामाकोशी गाउँपालिकामा १९ हजार ७७३ जना र सुनापती गाउँपालिकामा १८ हजार ४२१ जना मतदाता रहेका छन् । मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिससहित जिल्ला निर्वाचन कार्यालयमा गएर सम्बन्धित व्यक्तिहरुले फागुन २० गते भित्र निवेदन दिन सकिने छ । सरकारले निर्वाचन घोषणा गरेको दिनसम्म १८ वर्ष पूरा भएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् ।
सरकारले आगामी २०७९ साल वैशाख ३० गतेका लागि ७ सय ५३ वटै स्थानीय तहको एकै पटक निर्वाचन गर्ने भनेर मिति घोषणा गरिसकेको छ । सोही सन्दर्भमा रामेछापका राजनीतिक दलहरु पनि निर्वाचनको तयारीमा जुटिसकेका छन् । जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र राप्रपाबीच प्रतिश्पर्धा हुने गर्दछ । रामेछापमा विशेषतः नेकपा एमाले र नेपाली काँग्रेसबीच तीब्र प्रतिश्पर्धा हुने गर्दछ । तर, अहिले नेकपा एमाले बाहेक अन्य राजनीतिक दलहरु निर्वाचनको तयारीमा खासै जुटेका छैनन् । एमालेले आफ्ना चुनावी अभियान र तयारीबारे कार्ययोजना सार्वजनिक गरिसकेको छ । अन्य राजनीतिक पार्टीहरु भने मौन देखिएका छन् ।