१४ फागुन २०७८
रामेछाप – समता एजुकेशन ट्रस्ट द्धारा रामेछापको मन्थलीमा सञ्चालित समता स्कुलले १३ कोठे भवन निर्माण गर्ने भएको छ । नयाँ बन्न लागेको भवनको शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमकाबीच मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले उद्धघाटन गर्नु भएको हो ।

जिल्ला आयुर्वेद कार्यालय नजिकै मुख्य सडकदेखि करिब ५० मिटरको दुरीमा रहेको साँढे ६ रोपनी खेत भाडामा लिएर १३ कोठे भवन ६ महिनाभित्र निर्माण गर्ने गरी शिलान्य गरिएको समता स्कुलकी प्रिन्सिपल मनिषा बुढाथोकीले जानकारी दिनुभयो । भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय चन्द्र बहादुर माझीले २० वर्षका लागि सम्झौता गरी भाडीमा दिनुभएको हो ।
कार्यक्रमा नगरप्रमुख बस्नेतले चैत्र मसान्तसम्म दुई पक्षीय सम्झौता गरी भवन निर्माणका लागि नगरपालिकाबाट १५ लाख उपलब्ध गराउने घोषणा गर्नु भएको छ । आफु जहिले पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न रुचाउने भएकोले आफ्नो बार्षिक आम्दानीको १० प्रतिशत रकम पनि प्रत्येक बर्ष ब्यक्तिगत रुपमा समताको कोषमा जम्मा गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाले मन्थली नगरपालिकालाई शैक्षिक हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । नगरप्रमुख वस्नेतले बिद्यमान महङ्गो शिक्षा प्रणालीलाई न्यूनीकरण गर्दै सरल, सहज र गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याउने उद्देश्यका साथ आफूले काम गर्ने बताउनुभयो । यसैबीच, समता एजुकेशन ट्रस्टका निर्देशक दिपक सञ्जेलले समता स्कुललाई क्रिश्चियन धर्मको प्रचार गर्ने घरको रुपमा कतिपयले बुझ्ने गरेको बताउँदै वास्तविकता भने फरक रहेको बताउनुभयो ।
यो धर्म प्रचारको लागि स्थापित गरिएको नभई गरिबका छोराछोरीलाई सस्तो, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँले समता एजुकेशन ट्रस्टद्वारा सञ्चालित बिद्यालयहरुका लागि बार्षिक रुपमा १५ करोड आवश्यक पर्ने बताउनु भएको थियो । हाल बिद्यार्थीहरु बाट प्रतिव्यक्ति एक सय रुपियाँका दरले सात करोड रुपैयाँ संकलन हुने र बाँकी ८ करोड राष्ट्रिय स्तरका व्यक्ति तथा संघ संस्थाहरुले दिएको सहयोग तथा दानबाट चल्ने उहाँको भनाई थियो ।
यस्तै, कार्यक्रमा स्थानीय समाजसेवी तेज प्रसाद सुबेदीले भवन निर्माणका लागि एक लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ भने शिक्षक, शिक्षिका र अभिभावकहरुले पनि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।