२०७८ चैत्र १८
रामेछापका यम बहादुर थापाले अघि बढाउनु भएको भ्रष्टाचारविरुद्धको अभियान विद्यालयसम्म पुगेको छ । सदरमुकाम मन्थलीमा शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आफूले थालेको भ्रष्टाचारविरुद्धको अभियान विद्यालय तहसम्म पुगेको अभियान्ता थापाले बताउनु भएको हो । यो अभियान लिएर मन्थली नगरपालिका भित्रका ३३ वटा माध्यमिक विद्यालय, दुई वटा आधारभूत विद्यालय र रामेछाप नगरपालिकाभित्र रहेको गौरीशङ्कर
माध्यमिक विद्यालयमा गरी हालसम्म जिल्लाका ३५ वटा विद्यालयमा पुगिसकेको उहाँले बताउनुभयो । भ्रष्टाचार गर्ने कोही कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन भ्रष्टाचार नियन्त्रणमा नागरिक पनि जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश लिएर आफूले विद्यालयमा पुगेर बालबालिकाहरुलाई जिम्मेवार नागरिक बन्न अभिप्रेरित गरेको उहाँले बताउनुभयो । अभियानका क्रममा प्रत्येक विद्यालयका टुहुरा, गरिब तथा जेहेन्दार बालबालिकाको लागि कापी, कलम उपलब्ध गराएर सहयोग गरेको अभियन्ता थापाले बताउनुभयो ।
विद्यालयलाई आफूले आवश्यक खेल सामाग्री समेत सहयोग गरेको उहाँको भनाई छ । यस्तै, रामेछापको रजयछापमा केही दिनअघि भएको आगलागीको घटनाबाट क्षति भएका ११ घर परिवारलाई केही लत्ताकपडा समेत वितरण गरेको अभियान्ता थापाले बताउनुभयो । अभियान सञ्चाल र राहत वितरण गर्नेक्रममा लागेको सबै खर्च आफ्नो व्यक्तिगत भएको उहाँले बताउनु भएको थियो । अगामी दिनमा यस अभियानलाई अघि बढाउने क्रममा मन्थली नगरपालिकाभित्र प्रत्येक वडावडामा लिएर जाने बताउँदै उहाँले त्यसपछि जिल्लाभर अघि बढाउने बताउनुभयो ।